सरकारी विज्ञापन विभेदको विरोधमा पर्सामा पत्रकार महासंघको हस्ताक्षर अभियान सुरु
०७ जेष्ठ वीरगन्ज :
सरकारले खर्च कटौतीको नाममा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक अभियान सुरु गरेको छ। सोही अभियानअन्तर्गत नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगञ्जमा सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान थालेको हो।
वीरगञ्जस्थित मुर्ली बगैचामा रहेको पत्रकार महासंघको भवनमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूले हस्ताक्षर गर्दै सरकारको निर्णयप्रति विरोध जनाएका छन्। सहभागीहरूले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर पार्ने, प्रेस स्वतन्त्रतामाथि असर पुग्ने तथा सञ्चार क्षेत्रमा असमानता सिर्जना गर्ने बताएका छन्।
अभियानको उद्घाटन कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चारमाध्यममाथि विभेद गर्ने कुनै पनि नीति स्वीकार्य नहुने धारणा व्यक्त गरेका थिए। उनीहरूले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको संकुचनविरुद्ध पत्रकार, सञ्चारकर्मी तथा आम नागरिकलाई हस्ताक्षर अभियानमा सहभागी भई खबरदारी गर्न आह्वान गरेको छ।
ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष अनुप तिवारी, निरज पिठाकोटे मगर , समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार मुनेष लायोमागर , अकलेश साह, श्रावण साह लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। महासंघका अनुसार हस्ताक्षर अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिनेछ भने संकलित हस्ताक्षर सरका रसमक्ष बुझाइने छ।