धनुषामा साहित्यिक विमर्श तथा स्रष्टा सम्मान, प्रा. डा. राजेन्द्र विमल र नारायणविक्रम थापा सम्मानित

64

धनुषा, असार १४ — प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, मधेश प्रदेश समितिको आयोजना तथा न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुल, मिथिला नगरपालिका–९ को संयोजनमा साहित्यिक विमर्श, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

प्रलेस मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नारायणविक्रम थापा लगायतका वक्ताहरूले भाषा, साहित्य र समाजबीचको सम्बन्ध तथा यसको दूरगामी प्रभावबारे धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. राजेन्द्र विमलले राष्ट्रको हित, सामाजिक रूपान्तरण र अग्रगामी सोचलाई मार्गनिर्देशन गर्ने साहित्य सिर्जना गर्नु प्रगतिशील सर्जकहरूको दायित्व भएको बताउनुभयो। उहाँले समाज निर्माण र राष्ट्रलाई सही दिशातर्फ डोर्‍याउन साहित्यकारको भूमिका विगतदेखि नै महत्वपूर्ण रहँदै आएको उल्लेख गर्नुभयो।

राष्ट्रिय धान दिवस २०८३ को अवसर पारेर आयोजित कार्यक्रममा “माटोमा पसिना र सिर्जनाको बीज रोपेर जीवनको आधार निर्माण गर्ने किसानको योगदान पनि उत्तिकै महत्वपूर्ण छ” भन्ने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा मधेश प्रदेशका अधिकांश जिल्लाका सर्जकहरूका साथै बागमती प्रदेशका रामेछाप र सिन्धुली तथा छिमेकी देश भारतका साहित्यकारहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा प्रा. डा. राजेन्द्र विमल र नारायणविक्रम थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुल र सहायक प्रधानाध्यापक उद्धव अविचललाई कदरपत्र प्रदान गरिएको थियो। विद्यालयले पनि प्रलेसलाई प्रशंसापत्र प्रदान गरेको जनाएको छ।

कार्यक्रममा सहभागी सर्जकहरूले कविता, गीत, गजल तथा मुक्तक वाचन गरेका थिए। नेपाली मौलिक बाजा सारङ्गीका निर्माता तथा वादक सुमन सारङ्गी ले सारङ्गीको सुमधुर धुन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष नारायण घिमिरेले साहित्यमार्फत चेतना विस्तार र समाजको प्रगतिशील रूपान्तरण सम्भव हुने उल्लेख गर्दै साहित्यकारहरूलाई सिर्जना र समाजसेवाको मार्गमा निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।

Leave A Reply

Your email address will not be published.