सशस्त्र प्रहरीद्वारा रु.१२ लाखभन्दा बढीका अवैध सामान र सवारी साधन बरामद

63

वीरगञ्ज, असार २३

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले रु. १२ लाख ६४ हजार ४४० बराबरका अवैध रूपमा भन्सार छलीगरी नेपाल भित्र्याइएका विभिन्न सामान तथा सवारी साधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार असार २२ गते सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको रु. १ लाख ७० हजार बराबरको किराना सामान बरामद गरेको हो।

त्यसैगरी, वीरगञ्ज–२ इदगाह चोकबाट भारतबाट भन्सार छली ल्याइँदै गरेको भारतीय नम्बर प्लेट (एम.पी. ३–००१ एच ३४५१) को अटोमा लोड गरिएको रु. ४ लाख ३५ हजार बराबरको अटो तथा कपडा बरामद गरिएको छ।

यस्तै, वीरगञ्ज–२४ बहुअरी चोकबाट भारतीय नम्बर प्लेट (BR05AA 2273) को मोटरसाइकलमा ल्याइँदै गरेको रु. १ लाख ९५ हजार बराबरको मेडिकल सामग्रीसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ। भन्सार मेनगेट क्षेत्रबाट रु. १ लाख १६ हजार ४ सय बराबरको टाँगासहित घोडी, कस्मेटिक सामग्री र रेनकोट पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, नं. १३ गण मातहतको सीमा सुरक्षा गुल्म अलौले रु. १ लाख ३९ हजार ६ सय बराबरको सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ। साथै विभिन्न युनिटबाट रु. २ लाख ८ हजार ४४० बराबरका अन्य अवैध सामानसमेत नियन्त्रणमा लिइएको छ।

बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.