आदर्श मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी, कानुनी कारबाहीको माग
वीरगञ्ज, असार २६ — सामाजिक सञ्जालमार्फत पत्रकार समुदायलाई लक्षित गर्दै गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले कानुनी कारबाहीको माग गरेको छ।
महासंघले उक्त घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित निवेदन दर्ता गराएको हो। महासंघ पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई भेटेर मिश्रविरुद्ध आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेको छ।
निवेदनमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमार्फत पत्रकार समुदायलाई अपमानित गर्ने, गालीगलौज गर्ने तथा पत्रकारिताप्रति नकारात्मक र अमर्यादित टिप्पणी गरिएको उल्लेख गरिएको छ। महासंघले यस्ता गतिविधिले स्वतन्त्र प्रेसको सम्मानमा गम्भीर चोट पुगेको जनाएको छ।
महासंघले कानुनी शासन भएको मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठामा आँच पुर्याउने, गालीगलौज गर्ने वा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम शीघ्र कारबाही गर्न माग गरेको छ।
नेपाल पत्रकार महासंघ पर्साले पत्रकारहरूको सम्मान, पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणमा आफू सधैं प्रतिबद्ध रहेको जनाउँदै यस्ता अमर्यादित गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
उक्त अवसरमा पर्साका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त निवेदनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।