रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन सम्पन्न, राकेश मिश्रले सम्हाले अध्यक्षको जिम्मेवारी

70

 

वीरगञ्ज, १० साउन — रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा रोटेरियन राकेश मिश्रले क्लबको अध्यक्ष (२०२६–२७) का रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमितिको पनि औपचारिक घोषणा गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, गोपाल खेतान तत्कालीन अध्यक्ष, दीनदयाल केडिया अध्यक्ष–निर्वाचित, अमित कुमार गुप्ता उपाध्यक्ष, पियुष गुप्ता सहसचिव, डा. अमर केयाल कोषाध्यक्ष, डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, सोहन पोद्दार क्लब प्रशासन निर्देशक, अभिषेक चौधरी सदस्यता निर्देशक, रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा पूजा खत्री सदस्यता समिति संयोजक चयन भएका छन्। अन्य विभिन्न समिति तथा उपसमितिमा समेत सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।

समारोहमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूका साथै उद्योगी, व्यवसायी, समाजसेवी, पेशाकर्मी र अन्य आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीका मानवीय सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको मूल मन्त्र “सेवा नै सर्वोपरि” लाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

समारोहमा निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको थियो। कार्यक्रमका अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको तथा सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र आपसी भेटघाटसँगै समारोह सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.