तेरापन्थ युवक परिषद् वीरगन्जको सप्ताहव्यापी रक्तदान अभियान जारी, ६६ जनाले दिए रगत
वीरगन्ज आनन्द पटेल।
तेरापन्थ युवक परिषद् वीरगन्जले आयोजना गरेको सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आदर्शनगर स्थित स्काई मल वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् ।
राउन्ड टेबल वीरगन्ज–३ को सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवती तथा सामाजिक अभियन्ताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा अदिती अग्रवाल, सन्ध्या चौधरी, कविता केडिया, श्रेया चाचान, खुशी शर्मा, दिपाञ्जली बरनवाल, मृदुला चाचान, सीता शर्मा, मेराज आलम, अनमोल साह, बिपिन ठाकुर, मोहम्मद बेलाल, कृष्ण पासवान, जोशन श्रेष्ठ र रोबिन बिक लगायत रहेका छन् ।
कार्यक्रम तेरापन्थ युवक परिषद् वीरगन्जका अध्यक्ष सुनिल दुगड र राउन्ड टेबल वीरगन्ज–३ का अध्यक्ष अनुज क्यालको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो । परिषद्का रक्तदान संयोजक सौरभ भुटोरिया, रक्तदान अन–कलका आशीष चोरडिया, पंकज बैद, अनिल बैद, राउन्ड टेबलका सचिव अमन मित्तल, दिपक बैद, पीयूष चाचान, अनमोल छपरिया लगायत स्काई मलका सहयोगीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा सामाजिक अभियन्ता लालबाबु सिंहले वीरगन्ज आसपासका क्षेत्रमा रगतको अभाव भइरहेको जानकारी पाएपछि तेरापन्थ युवक परिषद्ले गत वर्ष झैँ यस वर्ष पनि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सप्ताहव्यापी वृहत् रक्तदान कार्यक्रम आयोजना गर्नु सराहनीय कार्य भएको बताए । रक्तदान कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले आफूलाई निकै खुशी र गर्व लागेको बताउँदै उनले सम्पूर्ण रक्तदाता तथा आयोजक प्रति आभार व्यक्त गरे ।
तेरापन्थ युवक परिषद् वीरगन्जले शुक्रबार ब्योधा हस्पिटल वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गर्दै सप्ताहव्यापी वृहत् रक्तदान अभियानको शुभारम्भ गरेको थियो । अभियानअन्तर्गत स्काई मलमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो भने मंगलबार किरण आँखा अस्पताल वीरगन्जको सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिने परिषद्ले जनाएको छ ।
अभियान अन्तर्गत आगामी दिनमा विभिन्न कलकारखाना, अस्पताल, क्लिनिक, संघसंस्था तथा विद्यालय लगायतका स्थानमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरी बढी भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष सुनिल दुगडले बताए । यसबाट रक्तसञ्चार केन्द्र वीरगन्जमा हुने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न सहयोग पुग्ने उनले बताए ।
अध्यक्ष दुगडले रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद दिँदै सहयोगी आयोजक संस्था, सहयोगी हातहरू तथा परिषद्का पदाधिकारी र सदस्यहरू प्रति आभार व्यक्त गरे । आगामी कार्यक्रमहरूमा पनि सबैको सहयोग र सहकार्यको अपेक्षा रहेको उनले बताए ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक श्रीराम ठाकुरको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक टोलीले रक्तदाताहरूलाई रक्तदान गर्न सहजीकरण गरेको थियो ।