हिन्दू पत्रकार सङ्घ नेपालको बैठक सम्पन्न, संगठन शुद्धीकरणदेखि कार्यालय स्थापनासम्मका निर्णय

35

वीरगञ्ज, असोज १६ ।

हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्ज स्थित माइस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले संगठन शुद्धीकरण, कार्यालय स्थापना तथा संस्थाका गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने विषयमा निर्णय गरेको हो।

बैठकले लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यलाई संस्थाबाट हटाउने निर्णय गरेको छ। यस्तै, वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील पत्रकार सङ्घको अध्यक्ष पदमा चयन भएकाले उनले हिन्दू पत्रकार सङ्घको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्।

पटेलको राजीनामापछि बैठकले कन्हैया पटेललाई नयाँ कोषाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ।

बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेल लगायतको उपस्थिति रहेको थियो।

बैठकका निर्णयले संस्थालाई थप व्यवस्थित, सक्रिय र गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको हिन्दू पत्रकार सङ्घ नेपालले जनाएको छ।

Leave A Reply

Your email address will not be published.