इन्दौरमा १८औँ भारतीय पत्रकारिता महोत्सव सुरु, Gen-Z र सञ्चारमाध्यमको प्रभाव मुख्य विषय

42

असोज १६

भारतको मध्यप्रदेश स्थित इन्दौरमा १८औँ भारतीय पत्रकारिता महोत्सव–२०२६ शुक्रबारदेखि सुरु भएको छ। दक्षिण तुकोगञ्जस्थित जाल सभागृहमा सुरु भएको तीनदिने महोत्सवमा भारतभरबाट १५० भन्दा बढी वरिष्ठ पत्रकार, सम्पादक तथा डिजिटल सञ्चार विज्ञ सहभागी भएका छन्।

मध्यप्रदेश राज्य प्रेस क्लबको आयोजनामा भइरहेको महोत्सवको यस वर्षको मुख्य विषय ‘जेनेरेसन जेड (Gen-Z) र प्रिन्ट, इलेक्ट्रोनिक तथा डिजिटल सञ्चारमाध्यममा यसको प्रभाव’ रहेको छ।

महोत्सवका क्रममा हिन्दी पत्रकारिताका सात अग्रज व्यक्तित्व स्वर्गीय राहुल बारपुते, राजेन्द्र माथुर, प्रभाष जोशी, मणिकचन्द्र वाजपेयी, रमेशकचन्द्र अग्रवाल, अभय छाजलानी र कृष्ण कुमार अष्टानालाई ‘सप्तऋषि’का रूपमा स्मरण गरिएको छ।

उद्घाटन समारोहमा भारतको सर्वोच्च अदालतका न्यायाधीश जे.के. माहेश्वरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। मध्यप्रदेश विधानसभाका विपक्षी दलका नेता उमंग सिङ्घार, माखनलाल विश्वविद्यालयका उपकुलपति विजय मनोहर तिवारी तथा एमडीएचका अध्यक्ष राजीव गुलाटी विशेष अतिथिका रूपमा उपस्थित थिए।

अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रबाट सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, महासचिव एमडी अब्दुर रहमान, फेडरेशन अफ प्रेस क्लबका अध्यक्ष गौतम लाहिरी तथा कोरेस्पोन्डेन्ट क्लब अफ इन्डियाका महासचिव प्रकाश नन्दालगायत सहभागी छन्।

महोत्सवका कार्यक्रमबारे संयोजक सुदेश तिवारी, कार्यक्रम निर्देशक एवं राज्य प्रेस क्लब मध्यप्रदेशका अध्यक्ष प्रवीण खारीवाल तथा प्रमुख महासचिव नवनीत शुक्लाले जानकारी दिएका थिए।

महोत्सवमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका सञ्चारकर्मी तथा व्यक्तित्वलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिँदैछ। स्वर्गीय साहित्यकार नरेश मेहताको स्मृतिमा स्थापित **‘सप्तऋषि लाइफटाइम एचिभमेन्ट अवार्ड’**बाट ७३ वर्षीय वरिष्ठ सम्पादक देवप्रिय अवस्थीलाई सम्मान गरिने भएको छ।

त्यस्तै राष्ट्रिय तथा राज्यस्तरीय पत्रकारिता पुरस्कारअन्तर्गत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान गरिने आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पत्रकारिताको बदलिँदो स्वरूप, डिजिटल युगका चुनौती र अवसर तथा जेनेरेसन जेडको सञ्चार क्षेत्रमा प्रभावलगायत विषयमा प्यानल छलफल, मिडिया समिट तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिनेछ।

Leave A Reply

Your email address will not be published.