दसैँ बिदामा पनि खुला रहने उच्च अदालत वीरगञ्ज, बिहान ११ देखि दिउँसो २ बजेसम्म सुनुवाइ

41

वीरगञ्ज, २३ असोज।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वडा दसैँको सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक न्यायिक सेवा सञ्चालन गर्ने भएको छ। अदालतले बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञालगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार २०८३ साल असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म दसैँको सार्वजनिक बिदा भए पनि अदालतबाट अत्यावश्यक न्यायिक सेवा प्रदान गरिनेछ।

उनका अनुसार सार्वजनिक बिदाका दिन अदालतको कामकारबाही बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। सो अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञालगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गरिनेछ।

सार्वजनिक बिदाका कारण न्यायिक सेवा प्रभावित हुन नदिन तथा सेवाग्राहीलाई आवश्यक न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले अदालत सञ्चालनको व्यवस्था गरिएको हो।

यससम्बन्धी सूचना सार्वजनिक गर्दै अदालतले बिदाको अवधिमा न्यायिक सेवा लिनुपर्ने सेवाग्राही तथा सरोकारवालालाई तोकिएको समयमा अदालतमा सम्पर्क गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.