पर्सामा तीन लाख भन्दा बढी मूल्यका पटाका बरामद गरी नष्ट

85

वीरगञ्ज, कार्तिक ८ । चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले अवैध पटाका तथा विस्फोटक पदार्थ नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। अभियान अन्तर्गत तीन लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको छ।

गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्व तथा निर्देशनमा सञ्चालन गरिएको अभियानको मुख्य उद्देश्य चाडपर्वका बेला पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसार पसार, बिक्रीवितरण र प्रयोगबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नु रहेको छ।

पटाकाको अनियन्त्रित प्रयोगले आगलागी, शारीरिक चोटपटक, जननको क्षति तथा ध्वनि र वायु प्रदूषणको जोखिम बढाउने भएकाले यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती जिल्ला पर्सामा अवैध रूपमा भित्रिने तथा कारोबार हुने प्रतिबन्धित सामग्रीमाथि निगरानी बढाउँदै सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सक्रियता देखाएको छ। चाडपर्वका बेला यस्ता सामग्रीको कारोबार तथा प्रयोग बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण अभियानलाई तीव्रता दिइएको हो।

पटाकाको प्रयोगबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई प्रत्यक्ष असर पर्न सक्ने भएकाले नागरिकलाई समेत सचेत रहन आग्रह गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण र नागरिकको जिउधनको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। पटाका नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गरी सार्वजनिक सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिबन्धित पटाका तथा विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नगर्न आग्रह गर्दै सशस्त्र प्रहरीले त्यस्ता गतिविधिबारे जानकारी पाएमा सम्बन्धित सुरक्षा निकायलाई सूचना दिन समेत अनुरोध गरेको छ।

Leave A Reply

Your email address will not be published.