रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब भन्दा बढीको क्षति, ३२ हजार भन्दा बढी प्रभावित

43

काठमाडौं । रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षण अनुसार बाढीबाट चार जिल्लाका ३२ हजार ८७२ जना प्रभावित भएका छन् भने २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

आयोगको प्रारम्भिक विवरण अनुसार बाढीबाट घरपरिवार तर्फ ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यवसाय तथा  ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढीले चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र सयौँ व्यवसाय तथा प्रतिष्ठानलाई प्रभावित पारेको छ।

जिल्लागत विवरण अनुसार नुवाकोटमा सबै भन्दा बढी ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन्। त्यस्तै, रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ।

जग्गाजमिनमा सबै भन्दा बढी क्षति

बाढीबाट भएको आर्थिक क्षति मध्ये जग्गाजमिनमा सबै भन्दा ठूलो असर परेको छ। सर्वेक्षण अनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गामा क्षति पुगेको छ। उक्त जग्गाको प्रारम्भिक मूल्याङ्कन ३५ अर्ब ४४ करोड रुपैयाँ गरिएको छ।

त्यस्तै, घर रहेको जग्गाको घडेरीमा १३ अर्ब २६ करोड रुपैयाँ र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। बाढीले हजारौँ परिवारको आवास र सम्पत्तिमा गम्भीर असर पारेको विवरणले देखाएको छ।

कुल ४ हजार १५१ क्षतिग्रस्त भवन संरचनामध्ये २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विवरण अनुसार ३ हजार १९४ संरचना पुनःप्रयोग गर्न नसकिने अवस्थामा छन्। त्यस्तै, ३३२ संरचना पूर्ण मर्मतसम्भारपछि, ३२० सामान्य मर्मतसम्भारपछि र ९७ संरचना मर्मत नगरी प्रयोग गर्न सकिने अवस्थामा रहेका छन्।

खेतीबालीदेखि सवारीसाधनसम्म क्षति

बाढीले घरजग्गासँगै कृषि उत्पादन तथा प्रभावित परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ। खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसबाट २ हजार ९५१ परिवार प्रभावित भएका छन्।

भण्डारमा रहेको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। खाद्यान्नमा भएको क्षतिबाट १ हजार ८७६ परिवार र पशुपन्छी तथा माछामा भएको क्षतिबाट १ हजार ११ परिवार प्रभावित भएका छन्।

परिवारले प्रयोग गर्ने सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसबाट १ हजार ११५ परिवार प्रभावित भएका छन्। त्यस्तै, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ, टिकाउ प्रकृतिका घरायसी सामग्रीमा १ अर्ब ४५ करोड रुपैयाँ र टिकाउ नहुने घरायसी सामग्रीमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।

व्यापार तथा खाद्य सेवा क्षेत्र प्रभावित

बाढीबाट व्यवसाय तथा प्रतिष्ठान तर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। क्षेत्रगत विवरण अनुसार यस क्षेत्रका ७७४ प्रतिष्ठान प्रभावित भएका छन्, जुन विवरणमा समेटिएका प्रतिष्ठानको ४७.२५ प्रतिशत हो।

त्यस्तै, आवास तथा खाद्य सेवा क्षेत्रका ३३७, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठान प्रभावित भएका छन्। औद्योगिक उत्पादन क्षेत्रका ७०, निर्माण क्षेत्रका ४७ तथा यातायात र भण्डारण क्षेत्रका ३१ प्रतिष्ठानमा असर परेको छ। वित्तीय सेवा, खानी तथा उत्खनन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिष्ठान समेत प्रभावित भएका छन्।

जिल्लागत विवरण अनुसार नुवाकोटमा ३२३, धादिङमा १०४, रसुवामा ५७ र गोरखामा १५ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन्। यद्यपि, जिल्लागत विवरणमा व्यवसाय तथा प्रतिष्ठानको कुल संख्या ४९९ उल्लेख भए पनि क्षेत्रगत विवरणमा १ हजार ६३८ प्रतिष्ठान देखिएकाले तथ्याङ्कमा थप स्पष्टता आवश्यक देखिएको छ।

सरकारी पुनःस्थापनाको पर्खाइमा प्रभावित परिवार

बाढीपछि स्थायी रूपमा कहाँ बसोबास गर्ने भन्ने विषयमा प्रभावित परिवारको रोजाइले पुनःस्थापनाको चुनौती उजागर गरेको छ। सर्वेक्षणमा समेटिएका ३ हजार ६७ परिवार मध्ये ७९७ परिवार अर्थात् २५.९९ प्रतिशतले बाढी अघि बसोबास गरिरहेको स्थानमै फर्कन चाहेका छन्।

त्यस्तै, जिल्लाभित्रै परिवारको स्वामित्वमा रहेको अन्य स्थानमा बस्न चाहने ५६५ परिवार र देशभित्र अन्य स्थानमा रहेको आफ्नै जग्गामा बस्न चाहने १५९ परिवार छन्।

सरकारले उपलब्ध गराउने स्थानमा बस्न चाहने परिवारको संख्या ९३९ अर्थात् ३०.६२ प्रतिशत छ। त्यस्तै, सरकारले उपलब्ध गराउने सामूहिक आवासमा बस्न चाहने परिवार ५९० अर्थात् १९.२४ प्रतिशत छन्। यसरी सरकारी स्थान वा सामूहिक आवासमा पुनःस्थापित हुन चाहने परिवारको संख्या १ हजार ५२९ पुगेको छ।

यी तथ्याङ्कले बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि सुरक्षित जग्गा, व्यवस्थित आवास र आधारभूत सेवा उपलब्ध गराउनु आवश्यक रहेको देखाउँछन्।

५८ टोली परिचालन गरेर सर्वेक्षण

राष्ट्रिय योजना आयोगले अनलाइन एप र ट्याब्लेट प्रयोग गरी कर्मचारी परिचालन गरेर प्रारम्भिक क्षतिको विवरण सङ्कलन गरेको जनाएको छ। सर्वेक्षणका लागि चार जिल्ला र १५ स्थानीय तहमा ५८ टोली तथा १५६ जना जनशक्ति परिचालन गरिएको थियो।

आयोगका अनुसार सर्वेक्षणमा ७ हजार ३१६ घरपरिवार, व्यवसाय तथा प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ। प्रारम्भिक मूल्याङ्कनले बाढीबाट भएको क्षतिको व्यापकता देखाए पनि पुनर्निर्माण, आवास पुनःस्थापना र प्रभावितको जीविकोपार्जन पुनःस्थापित गर्न थप विस्तृत मूल्याङ्कन तथा योजनाबद्ध पहल आवश्यक देखिएको छ।

Leave A Reply

Your email address will not be published.