‘वीरगञ्जको नाफा वीरगञ्जमै खर्च होस्’ : बैंक प्रमुखहरूलाई सांसद हरि पन्तको आग्रह

79

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जबाट नाफा कमाउने बैंकहरूलाई कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम यहीँको समाजको हितमा खर्च गर्न आग्रह गरेका छन्।

वीरगञ्जस्थित ‘क’ वर्गका बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूसँग बिहीबार साँझ कन्ट्री इन होटलको सभाकक्षमा भएको छलफलमा सांसद पन्तले यस्तो आग्रह गरेका हुन्।

चुनाव अघि र चुनावपछि घरदैलो गर्ने क्रममा आफूले समाजमा थोरै लगानीबाट पनि ठूलो परिणाम दिन सक्ने विभिन्न सामाजिक कामहरू देखेको उल्लेख गर्दै पन्तले त्यस्ता काम सम्पन्न गर्न आवश्यक स्रोतको अभाव रहेको बताए। सांसदहरूसँग छुट्टै कोष तथा स्रोत नहुँदा कतिपय सामाजिक काम पूरा गर्न नसकिएको भन्दै उनले बैंकहरूलाई यस्ता कार्यमा सहयोग गर्न अनुरोध गरे।

छलफलका क्रममा बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्य सहित विभिन्न बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूले सीएसआर कोषको रकम निर्धारित क्षेत्र र मापदण्डअनुसार सहकार्य गर्दै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुखहरू सहभागी थिए। त्यसैगरी प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकका वीरगञ्ज स्थित प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

कृष्ण पासवानले सहजीकरण गरेको छलफलमा रास्वपाका क्षेत्रीय सभापति तेज सम्शेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिस प्रजापति तथा महमादिन आलम र सम्साद आलमको उपस्थिति रहेको थियो।

औद्योगिक व्यवसाय ऐन, २०७६ मा निश्चित मापदण्ड पूरा गर्ने उद्योग तथा संस्थाले वार्षिक खुद मुनाफाको एक प्रतिशत रकम कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक तथा विकासमूलक कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ। यस्तो रकम स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार सदुपयोग गर्न सके शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा अन्य सामाजिक क्षेत्रमा सकारात्मक योगदान पुग्न सक्छ।

सांसद पन्तले बैंकहरूलाई स्थानीय समाजको विकासमा योगदान गर्न आग्रह गर्दै वीरगञ्जमा आर्थिक गतिविधिबाट प्राप्त लाभको केही हिस्सा यहीँका नागरिकको हितमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.