जेनजी आन्दोलनमा वीरगञ्ज बाल सुधार गृहबाट फरार कैदी मालपोत चोकबाट पक्राउ
वीरगञ्ज आनन्द पटेल।
वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा वीरगञ्ज स्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ कात्तिक ३० गते बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर निवासी २२ वर्षीय युवक रहेका छन्। उनको पहिचान गोपनीय राख्न प्रहरीले परिवर्तित नाम वीरेन्द्रनगर (L) उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका युवकलाई सुर्खेत जिल्ला अदालतले अप्राकृतिक मैथुन मुद्दामा र बाँके जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। उनलाई दुवै मुद्दामा गरी १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।