मिर्चैयामा २४.११० ग्राम ब्राउन सुगर सहित दुई युवक पक्राउ, एक जना फरार

62

सिरहा, १० मंसिर । सिरहाको मिर्चैयामा प्रहरीले २४.११० ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जना युवकलाई पक्राउ गरेको छ। मोटरसाइकलमा सवार अर्का एक जना भने प्रहरीलाई देखेपछि फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३ बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बलुवाबाट मिर्चैया तर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए। गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। सो क्रममा दुई जना पक्राउ परे भने एक जना फरार भएका थिए।

पक्राउ परेका युवकमाथि खानतलासी गर्दा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाएर राखिएको २४.११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन्। फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय काशिन्द्र साह रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै युवक, बरामद ब्राउन सुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.