वीरगञ्जमा लैङ्गिक हिंसा विरुद्ध नव अभियान नेपालको अभियान, स्थानीयलाई पम्प्लेट वितरण

92

वीरगञ्ज आनन्द पटेल ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार वीरगञ्जमा स्थानीय नागरिकलाई लक्षित गरी जनचेतनामूलक पम्प्लेट वितरण गरिएको छ।

नव अभियान नेपालको आयोजनामा तथा सामुदायिक प्रहरी साझेदारीको समन्वयमा वीरगञ्ज महानगरपालिका–१ स्थित ईदगाह चोकमा कार्यक्रम आयोजना गरिएको हो। लैङ्गिक हिंसा विरुद्ध आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने, हिंसा पीडितको संरक्षण तथा न्याय सुनिश्चितताका लागि समुदायलाई जागरुक बनाउने उद्देश्यले पम्प्लेट वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई लैङ्गिक हिंसाका विभिन्न स्वरूप, हिंसा भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया, पीडितले प्राप्त गर्न सक्ने संरक्षण तथा न्यायका विषयमा जानकारी दिइएको थियो। साथै, महिला तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, विभेद र शोषणविरुद्ध आवाज उठाउन तथा हिंसाका घटना लुकाउनुको सट्टा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको थियो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रियाज महमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीका अध्यक्ष ग्यासुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो।

नव अभियान नेपाल पर्सा शाखाका अध्यक्ष सूरजबाबुको पहलमा आयोजित कार्यक्रममा स्थानीय समुदायको सहभागिता र सहकार्यबाट मात्रै लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो। लैङ्गिक हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन घर परिवारदेखि समाजका सबै तहका नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा नव अभियानका पदाधिकारी, स्वयंसेवक तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

Leave A Reply

Your email address will not be published.