लागु औषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने: संयोजक गिरी

93

वीरगञ्ज । लागु औषध दुव्र्यसनीलाई अपराधिक मानसिकताबाट नभएर बिरामीको नजरबाट हेर्नुपर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिए । वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले लागु औषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण बदल्नुपर्ने आवश्यक्ता औँल्याए ।

समाजमा कुनै पनि किसिमका चोरी वा अन्य घटना हुने बित्तिकै सबैभन्दा पहिला लागुऔषध प्रयोगकर्तामाथि शंका गर्ने प्रवृतिको उनले विरोध गरे । परिस्थितीले कुलतमा फसेका युवालाई समाजले झन लाञ्छना र विभेदको नजरियाबाट नियाल्दा मनोबल कमजोर हुने गरेको उनको भनाई छ ।

संयोजक गिरीले नै संस्थाले गरेका कार्य प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रस्तुतीअनुसार रिकभरीङ् नेपाल पूर्व लागुऔषध प्रयोगकर्ताहरुको समूहद्वारा गठन गरिएको राष्ट्रिय सञ्जाल नै रिकभरीङ् नेपाल हो । जसले एचआईभी र औषधी पयोगको लागि उपचार र औषधीमा पहुँचको आवश्यक्तालाई पनि सम्बोधन गर्ने उद्देश्य लिएको छ ।

सन् २००३ सालमा स्थापित संस्थाले हाल सात वटै प्रदेशमा आफ्नो संगठन बिस्तार गरेर लागुऔषध दुव्र्यसनी कम गर्न तथा यसको क्षेत्रमा पैरवी, वकालत, अध्ययन, अनुसन्धान तथा नीति निर्माणमा सहयोग गर्ने काम गरीरहेको गिरीले जानकारी दिए । उनकाअनुसार एउटै उद्देश्य लिएर एउटै क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थासँग समन्वय र सहकार्य गर्दै समाजमा लागुऔषध दुव्र्यसनीलाई कम गर्ने र कुलतमा फसेकालाई सुधार गरेर पुर्नस्थापित गर्ने संस्थाको उद्देश्य हो ।

गत वर्ष मात्रै रिकभरीङ् नेपालले २६७ वटा संस्थालाई मनोसामाजिक परामर्शको तालिम प्रदान गरिएको रिकभरीङ् नेपाल मधेश प्रदेशका कोषाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनकाअनुसार सात वटै प्रदेशका १५७ जना लागुऔषध प्रयोगकर्तालाई व्यवसायिक तालिम प्रदान गरिएको छ भने पूर्व दुर्व्यसन पीडित २६ जनालाई व्यवसाय योजना कार्यान्वयनका लागि प्रारम्भिक पूँजी प्रदान गरी व्यवसाय संचालनमा सहयोग गरिएको छ ।

वीरगञ्ज भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले लागुऔषधको जोखिम धेरै भएको संस्थाका केन्द्रिय सदस्य सुवोध पौडेलले बताए । बिकराल रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सबै सरोकारवाला गम्भिर भएर रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नीता फाउण्डेशनका भुषण क्षेत्री, मनिला फाउण्डेशनका धिरज शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.