प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनश्यताका कारण पर्साको बहुदरमाई नगरपालिकाको कर्मचारीहरुले पाएन्न तलब भत्ता

60

पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् ।

चालू आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।

पालिकाले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि विवादका कारण बहुदरमाई नगरपालिकाले गएको कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलब भत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ ।

उपमेयर सुष्माकुमारी कुशवाहाले आफूले पटक–पटक प्रमुखसँग समन्वय गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प रहेको बताउनुभयो ।

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सय जनाभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलब भत्ता, दशैँ खर्चलगायत  सुविधा नपाएको गुनासो गरेका छन् ।

Leave A Reply

Your email address will not be published.