जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका १९५ जना प्रतिवादीलाई एकै दिन पक्राउ

38

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका १९५ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरी अदालतमा पेश गरेको छ। विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ती प्रतिवादीहरूलाई नियन्त्रणमा लिन प्रहरी उपरीक्षक गौतम मिश्रको निर्देशनमा विशेष टोली खटाइएको थियो।

कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले २०८२ साल वैशाख ३० गते जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा उपस्थित गराएको हो।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, उनीहरू प्रहरीको निगरानीमा रहेकाहरू थिए र सूचनाको आधारमा निगरानी तथा योजनाबद्ध रणनीति अपनाएर पक्राउ गरिएको हो।

पक्राउ परेका प्रतिवादीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूमाथि ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय कार्यान्वयनमा ल्याइने भएको छ।

पर्सा प्रहरीले एकै दिन यति ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्नुलाई महत्वपूर्ण सफलता मानेको छ। प्रहरीले अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले फैसला कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने तथा बाँकी फरार प्रतिवादीको खोजीमा थप सक्रियता बढाउने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.