रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसद्वारा त्रीजुद्ध स्कुलमा वृक्षारोपण
लालबाबु सिंह, १० श्रावण, वीरगन्ज ।
रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले वातावरण संरक्षणको अभियान अन्तर्गत वीरगन्ज–४ बिर्तामा अवस्थित त्रीजुद्ध स्कुलको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष संजय जोशिको अध्यक्षता र वडाअध्यक्ष जगत साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रीजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्रा, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, क्लबका पूर्वअध्यक्ष शालिकराम प्रसाद कानु, शशिरञ्जन कलवार, हरि गोपाल श्रेष्ठ, निवर्तमान अध्यक्ष अनिल जैसवाल तथा सदस्यहरू हरिओम साह, रबिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आँप, लिची, निम, धुप, जकरकण्ड, गुलमोहर र अर्जुनसहित २५ थान विरुवा रोपिएको क्लबले जनाएको छ।
सो अवसरमा क्लब अध्यक्ष जोशीले वातावरणीय संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै, “हरियो, सफा र स्वस्थ वीरगन्ज बनाउनु हाम्रो दायित्व हो,” भने। उनले प्रत्येक घर तथा व्यक्तिले कम्तीमा एक विरुवा रोप्नुपर्ने आवश्यकता औंल्याउँदै, “वृक्षारोपण मात्रै होइन, त्यसको संरक्षणमा पनि सबैको ध्यान जानु जरुरी छ,” भने।
प्रमुख अतिथि वडाअध्यक्ष कानुले वातावरणीय असन्तुलनका कारण आज पानीको अभावजस्ता समस्या देखिएको उल्लेख गर्दै सबैलाई वृक्षारोपण अभियानमा सहभागी हुन आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपणसँगै त्यसको संरक्षण र संवर्द्धनमार्फत वातावरण र प्रकृतिप्रति सम्मान प्रकट गर्नुपर्ने धारणा राखेका थिए।