समाजसेवामा बहुदरमाई सक्रिय, एक महिला सहित ५२ जनाले गरे रक्तदान
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। यसमध्ये एक जना महिलाले पनि रक्तदान गरेकी छन्।
रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सांसद श्याम पटेल, विशिष्ट अतिथिमा प्रहरी उपरीक्षक गौतम मिश्र र बहुदरमाई नगरपालिकाका पूर्व नगर प्रमुख नितेन्द्र साह लगायत स्थानीयको उपस्थिति थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले रक्तदानलाई जीवनदानको रूपमा लिनुपर्ने बताए। ‘रगतको अभावले कसैको पनि ज्यान जानुहुँदैन,’ उनले भने, ‘यस्ता कार्यक्रमले समाजमा मानवीयता र एकताको सन्देश फैलाउँछ।’
कार्यक्रमका आयोजक बहुदरमाई युवा समाजले रक्तदान गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।