रानिघाटमा २५औं पटक खुला रक्तदान सम्पन्न, १०५ जनाले दिए जीवनदायिनी रक्त

106

 

वीरगंज ४ , पर्सा

दुर्गापुजा सेवा समिती रानिघाटले २५औं पटक खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार वीरगंज–९, रानिघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम समिती अध्यक्ष शतिश सिंह राजपुतको अध्यक्षता, वडा नं. ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीको समेत उपस्थिति थियो।

सो अवसरमा वडाअध्यक्ष गुप्ताले नियमित रक्तदान अभियानलाई निरन्तरता दिँदै २५औं पटक आयोजना गरेकोमा समितीलाई प्रशंसा गर्दै, “रक्तदान भनेको दिनेलाई घाटा हुँदैन, तर लिनेका लागि जीवनदायिनी हुन्छ। प्रत्येक तीन महिनामा रक्तदान गरी मानवता बलियो बनाउन सबैलाई आग्रह गर्दछु,” भने।

अध्यक्ष शतिश सिंह राजपुतले समितीले वर्षमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गर्ने परम्परा बनाएको बताउँदै, “कसैको जीवन बचाउनु नै सबैभन्दा ठूलो धर्म हो। आज २५औं सिल्भर जुबली रक्तदान सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गौरव लागेको छ,” भन्दै सम्पूर्ण रक्तदाताप्रति धन्यवाद व्यक्त गरे।

रक्तदानमा सहभागीमध्ये सोनि पासवान, सुदामा देवी गुप्ता, सुषमा सिंह राजपुत लगायतका महिला रक्तदातासहित राहुल सिंह राजपुत, अशोक श्रीवास्तव, कृष्ण यादव, अमृत पौडेल, दिपेन्द्र राज, मोहम्मद सिकन्दर अन्सारी, रहमत अन्सारी लगायत सयौँ रक्तवीरहरुले आफ्नो अमूल्य योगदान दिएका थिए।

समितीले आगामी दिनमा पनि नियमित रक्तदान कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.