गरीब असहायको अनुहारमा खुशी: वीरगञ्ज कपडा बैंकद्वारा कपडा वितरण
११ असोज, वीरगञ्ज ।
दशैं पर्वको अवसरमा वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा विशेष कार्यक्रमको आयोजना गर्दै गरीब, असहाय र विपन्न परिवारलाई नि:शुल्क कपडा वितरण गरेको छ।
कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि बेलुकी ५ बजेसम्म वीरगञ्ज–८ स्थित आफ्नो कार्यालयबाट कपडा वितरण गर्दै आएको छ। यसै अभियानलाई पर्वको विशेष अवसरसँग जोड्दै शुक्रबार मात्रै करिब ९५० थान नयाँ र प्रयोगयोग्य कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले दशैंलाई आपसी एकता, भाईचारा र हर्षोल्लासको पर्वको रूपमा मनाउन आग्रह गर्दै मानव सेवामै सर्वोत्तम धर्म रहेको उल्लेख गरे। उनले आम्दानीको पाँच प्रतिशत रकम समाजसेवा र असहाय सहयोगमा खर्च गर्न सबैलाई प्रेरित गर्दै “मानवता बलियो बनाउन दान र सहयोग अनिवार्य छ” भनेका थिए।
संस्थाका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपूत, श्रवण बहादुर रायमाझी, रुपशिला जैसवाल, प्रहरी असईराम बिनोद झा लगायत समाजसेवी, पदाधिकारी, सदस्य र पत्रकारहरूको उपस्थिति थियो।
विशिष्ट अतिथि उपाध्यायले चाडपर्वमा नयाँ कपडा खरिद गर्न नसक्ने विपन्न परिवारलाई सहयोग पुर्याउने कार्यलाई सबैको सामाजिक उत्तरदायित्वको रूपमा लिँदै यस अभियानमा हातेमालो गर्न आग्रह गरे।
कार्यक्रममा अध्यक्ष सिंहले कपडा बैंकलाई निरन्तर सहयोग गर्ने दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार तथा पदाधिकारीप्रति आभार प्रकट गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना व्यक्त गरे।