वीरगञ्जमा तनाव कम गर्ने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

311

वीरगञ्ज, आनन्द पटेल।

वीरगञ्ज महानगरपालिका–८, पानी ट्यांकी नजिक अवस्थित लिटिल बडी प्रि–स्कुल र सनसाइन इङ्ग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार एक दिने तनाव व्यवस्थापन तथा दुई हृदय ध्यान (Twin Hearts Meditation) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा प्राणिक हिलर सृजना ढकालले प्रशिक्षण दिएकी थिइन्। उनले ‘दुई हृदय ध्यान’ विधि विश्वभर लोकप्रिय ध्यान प्रविधि रहेको बताउँदै यसले मानसिक शान्ति, दया, माया र आत्मिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन्।

कार्यक्रमको विशेष समन्वय लिटिल बडी प्रि–स्कुल र सनसाइन स्कुलको व्यवस्थापन समितिले गरेका थिए। प्रशिक्षणमा सहभागी शिक्षक, कर्मचारी तथा अभिभावकहरूले ध्यान अभ्यासपछि मनको शान्ति, मानसिक स्थिरता र शारीरिक हल्कापन अनुभव गरेको प्रतिक्रिया दिएका थिए।

एक सहभागी शिक्षकले भने, “पहिलो पटक यस्तो ध्यानमा सहभागी हुँदा नै शरीर हल्का र मन एकाग्र भएको महसुस भयो।”

यस अवसरमा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले विगतका दिनमा पनि यस्ता स्वास्थ्य उपयोगी कार्यक्रमहरूको आयोजना गरिँदै आएको र आगामी दिनमा निरन्तरता दिने जानकारी दिए। उनले विद्यालयस्तरमै यस्ता अभ्यासलाई अति आवश्यक बताउँदै, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि ध्यान प्रविधि प्रभावकारी हुने बताए।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका कोअर्डिनेटर डा. वासुदेवलाल कर्ण, दिल्ली पब्लिक स्कूलका कोअर्डिनेटर शसि कलवार, रेडियोलोजिस्ट डा. अक्षय द्विवेदी, साथै प्याब्सन वीरगञ्ज महानगरका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीप्रति आभार व्यक्त गर्दै आयोजक विद्यालयहरूले यस्ता सकारात्मक ऊर्जा प्रवाह गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.