सशस्त्र प्रहरीद्वारा पर्सामा १० हजार प्रतिबन्धित चल्ला नियन्त्रण र नष्ट
वीरगन्ज। सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साको टोलीले ८,००,०००।- (आठ लाख रुपैयाँ) बराबरको १०००० गोटा (१०० कर्टुन) चल्ला नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी निरीक्षक, प्रसीसु गुल्म भिखम्पुर, अलौ र बिओपि मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले आज पर्साको धोविनि गाउँपालिका-२, आस्वारी स्थित क्षेत्रबाट उक्त चल्लाहरू नियन्त्रणमा लिएको थियो।
अवैध रूपमा ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई नेपालमा ल्याई भण्डारण गरी राखिएको अवस्थामा चल्लाहरू बरामद गरिएको थियो।
नियन्त्रणमा लिएका सबै प्रतिबन्धित ब्रोईलर कुखुराका चल्लाहरू नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको पेरिमिटरभित्र खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
चोरी निकासी कार्यमा प्रयोग भएको उक्त मोटरसाइकललाई भने भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।