चितवनमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सफलता पूर्वक सम्पन्न, ३७७ प्रशिक्षार्थी दीक्षित

71

समाचार:
चितवन, भरतपुर – नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित कार्यक्रममा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सो तालिममा कुल ३ सय ७७ प्रशिक्षार्थी सहभागी थिए, जसमा ५३ महिला प्रशिक्षार्थी पनि रहेका थिए।

कार्यक्रमको प्रमुख अतिथि प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो भने उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा प्रशिक्षार्थीहरूले तालिम अवधिमा आफ्नो अनुभव र सिकाइलाई समेटेर तयार पारेको “स्मृतिकुन्ज” पुस्तक पनि विमोचन गरिएको थियो।

प्रहरी महानिरीक्षक खापुङ्गले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्षम प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिनुहुँदै भन्नुभयो कि प्रशिक्षणको दौरान आर्जित ज्ञान, सीप र अनुशासनले उनीहरूको कार्यक्षेत्रमा व्यावसायिक सफलता र राष्ट्रसेवामा समर्पण सुनिश्चित गर्नेछ। उहाँले थपे, “आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय वा त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्नु हाम्रो सर्वोच्च जिम्मेवारी हो। प्रहरी अधिकृतहरूले नागरिकको सुरक्षा र सेवा नै आफ्नो धर्म र कर्म मान्नुपर्छ।”

महानिरीक्षक खापुङ्गले जस्तोसुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै विगतका अनुभव र त्रुटिहरूबाट सिक्दै कानुन बमोजिम निर्णय लिन र व्यावसायिक दृढताका साथ काम गर्न उपस्थित प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले सुरक्षा केवल उपकरण वा प्रक्रिया मात्र नभई नागरिकहरूको अनुभूति भएको बताउँदै प्रहरीको कर्म र धर्म नागरिक सेवामा प्रतिबिम्बित हुनुपर्नेमा जोड दिनुभयो।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिमको विवरण प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि सञ्चालन भएको उक्त आधारभूत तालिममा प्रशिक्षार्थीहरूले शारीरिक र मानसिक रूपमा चुनौतीपूर्ण गतिविधिहरू सफलतापूर्वक पूरा गरेको जानकारी दिनुभयो।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो भने शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउन सहयोग गर्नुभयो।

कार्यक्रममा चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, प्रशिक्षार्थीका अभिभावक, समाजसेवी, सञ्चारकर्मी र नेपाल प्रहरीका उच्च अधिकारी तथा जवानहरूको उपस्थिती रहेको थियो।

तालिम सफलतापूर्वक सम्पन्न भएपछि दीक्षित प्रशिक्षार्थीहरू आ-आफ्ना अभिभावक र अतिथिहरूबाट सम्मानित भए, र उनीहरू भविष्यमा नेपाल प्रहरीको सेवा र सुरक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.