देशभरका नर्सहरू प्रदर्शनमा, न्यूनतम तलब र सेवा–सुविधा सुनिश्चित गर्न माग
देशभरका सबै सरकारी र निजी अस्पतालका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेका छन्। सरकारी अस्पतालका नर्सहरूले पनि आन्दोलनमा एकता जनाउँदै सक्रिय सहभागिता जनाएका थिए।
नर्सिङ संघले अघि सारेको १५ बुँदे माग पूरा गर्नुपर्ने मागसहित नर्सहरूले प्रदर्शन गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारले तय गरेको स्तरभन्दा कम नघटाउने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको प्रमुख मागहरू हुन्।
त्यस्तै, हालसम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने माग पनि अघि सारिएको छ। सिभिल अस्पतालकी नर्स बिमला पौडेलले भने, “हामीले श्रमको सम्मान र आवश्यक सेवा–सुविधा पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हौं।”
विरोध प्रदर्शन बिहान १० बजेदेखि १२ बजेसम्म सीमित गरिएको भए पनि नर्सहरूले कार्तिक १८ गतेसम्म सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्। नर्सिङ संघले स्पष्ट पारेको छ कि श्रमको सम्मान नभएसम्म आन्दोलन जारी रहनेछ।