७७ करोड अनुदान नपाएपछि उखु किसान आक्रोशित, पुनः आन्दोलनको तयारी

87

 

उखु किसानले सरकारबाट पाउनुपर्ने करिब ७७ करोड रुपैयाँ अनुदान अझै नपाएको बताएका छन्। गत वर्षदेखि सरकारले अनुदान रकम घटाएर प्रतिक्विन्टल ७० बाट ३५ रुपैयाँ मात्र कायम गरेको थियो। घटाइएको सो रकमसमेत नपाएको उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले बताए।

गत आर्थिक वर्ष किसानले २ करोड १६ लाख क्विन्टल उखु बेचेका थिए। सरकारले छठपछि बाँकी रकम दिने सम्झदारी गरे पनि अझै भुक्तानी भएको छैन। किसानहरूले अब केही दिनमै रकम नआए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन्।

कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार कार्यदलले प्रतिवेदन बुझाइसकेको भए पनि अन्तिम निर्णय नभएकाले रकम रोकिएको हो।

मोरङ, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कञ्चनपुरका किसानहरूले गत भदौमा काठमाडौंमा आन्दोलन गरेका थिए।

नेपाल अझै पनि चिनीमा परनिर्भर रहँदै आएको छ। उत्पादन लागत बढे पनि कम मूल्य निर्धारण र उद्योगीको प्रभावका कारण किसान निराश छन्। परिणामस्वरूप धेरै किसानले उखुको विकल्प बालीतर्फ मोडिन थालेका छन्।

Leave A Reply

Your email address will not be published.