जिल्ला प्रशासन कार्यालय पर्सामा सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी दहालबीच परिचयात्मक कार्यक्रम सम्पन्न
वीरगञ्ज, पर्सा — आनन्द पटेल
जिल्ला प्रशासन कार्यालय पर्सामा आज सञ्चारकर्मीहरू र प्रमुख जिल्ला अधिकारीबीच परिचयात्मक कार्यक्रम तथा जिल्लाको शान्ति–सुरक्षा विषयमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुँदै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रदेश तथा जिल्लामा सञ्चारकर्मीहरूको भूमिका, चुनौती र राज्य संयन्त्रसँगको समन्वयबारे आफ्ना धारणा राखे।
अध्यक्ष बञ्जाराले सञ्चार क्षेत्र लोकतन्त्रको आधार स्तम्भ भएकाले सूचना प्रवाहमा स्वच्छता, पारदर्शिता र सुरक्षित कार्य वातावरण आवश्यक रहेको उल्लेख गरे। उनले स्थानीय निकाय, सुरक्षा निकाय र सञ्चारकर्मीबीच समन्वय मजबुत भएमा जिल्लाको शान्ति–सुरक्षा अझ प्रभावकारी रूपमा सुदृढ हुन सक्ने विश्वास व्यक्त गरे। त्यस्तै, उनले जिल्लामा देखिएका अपराधिक गतिविधि नियन्त्रण, सीमा क्षेत्रमा बढ्दो चुनौती, सामाजिक सद्भाव र नागरिकमैत्री प्रशासन निर्माणका विषयमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडिओ) भोला दहालले जिल्लाको कानून–व्यवस्थाको अवस्था, आपराधिक गतिविधि नियन्त्रणका रणनीति तथा आगामी योजनाबारे जानकारी गराउँदै, प्रशासन र सञ्चारकर्मीबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए। उनले “कसैको दबाबमा आएर काम नगर्ने, सेवा ग्राहीको हकहितमा सहज र खुला प्रशासन सञ्चालन गर्ने” प्रतिबद्धता पनि व्यक्त गरे।
उनले पर्साबासीलाई कुनै पनि गुनासो वा समस्या भए सीधै सम्पर्क गर्न आग्रह गरे। छलफलमा सञ्चारकर्मीहरूले खुला सिमाना, किसानका मुद्दा, सेवा प्रवाह, सार्वजनिक सुरक्षा, जनताका वास्तविक समस्या र प्रशासनिक सुधार लगायतका विषयमा सुझाव अघि सारे। साथै, सञ्चारकर्मीहरूले सकारात्मक उद्यममा सहकार्य र साथ रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, न्यू वर्तमानका केन्द्रीय सचिव दीपेन्द्र चौहान, महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया, प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष लालबाबु शेख, पर्सा शाखा अध्यक्ष निरञ्जन मिश्र, महिला सञ्चारकर्मी कविता खड्का, लक्ष्मी खरेल, पत्रकार भगवान कुर्मी, राजन रौनियार सहित विभिन्न सञ्चार माध्यमका सम्पादक तथा पत्रकारहरूको सक्रिय उपस्थिति रहेको थियो। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि उपस्थित रहेका थिए।