वीरगंज–२३ माउन्ट हर्मनमा निःशुल्क आँखा शिविर सम्पन्न, २०० भन्दा बढी लाभान्वित

47

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार वीरगंज २३ प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली–श्रीपुर ११ को आयोजना तथा माउन्ट हर्मन माध्यमिक विद्यालय र माट्रिका आइ फाउन्डेसनको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले शिविर उद्‍घाटन गर्दै समाजमा कुनै पनि आपराधिक घटना वा व्यक्तिगत समस्या परे ढिला नगरी प्रहरीसमक्ष जानकारी गराउन आग्रह गरे। उनले एसपीको नम्बरमा सम्र्पक नभए १०० नम्बरमा तुरुन्त सम्पर्क गर्न सकिने बताउँदै प्रहरी र समुदायबीच सहकार्य मजबुत बनाउनु सबैको हितमा हुने उल्लेख गरे। शिविरका अध्यक्ष सामुदायिक सेवा केन्द्र मुर्ली–श्रीपुरका राम सरार्फ थिए। कार्यक्रममा माउन्ट हर्मन माध्यमिक विद्यालयका डाइरेक्टर किशोरी प्रसाद साहले विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अध्ययनमा समर्पित हुनुपर्ने बताए। अभिभावकले राम्रो शिक्षा दिलाउने उद्देश्यले विद्यालयमा भर्ना गराएकाले त्यसको भरपूर उपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।

विद्यालयका प्रिन्सिपल सन्तोष साहले कार्यक्रमका सहभागी सबैलाई स्वागत गर्दै सामुदायिक–शैक्षिक सहकार्यले विद्यार्थी र स्थानीयवासी दुवैलाई लाभ पुगेको बताए। उनका अनुसार शिविरमा करिब २०० भन्दा धेरै व्यक्तिको आँखा चेकजाँच गरिएको थियो।जसअन्तर्गत मोटियाबिन्दुका समस्या भेटिएका विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको सहुलियत दरमा उपचार गरिने जानकारी प्रिन्सिपल साहले दिएका छन्।कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा, शिक्षकहरू राजेश्वर पाण्डे, निर्मल ताम्राकार, मधु सिंह, प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादव, सोनालाल साह, प्रहरी जवान धनमाया दाहाल, माट्रिका आइ फाउन्डेसनका प्रतिनिधि आरती साह, मनोज पटेल, इन्द्र सिंह धामी, राजकिशोर गुप्ता, जयप्रकाश साह लगायतको टोली रहेको थियो।शिविर कार्यक्रमको सहजीकरण कक्षा १० की विद्यार्थी सिर्जना कुशवहाले सञ्चालन गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.