रौतहटमा कार्यरत असई रागनी कुमारी देशभर सर्वोत्कृष्ट घोषित, ४० हजारसहित सम्मानित
समाचार:
मंसिर १५ वीरगंज । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने प्रथम कर्मचारी घोषित भएकी छन्।
रागनी कुमारीले देशभरका सबै सेवा केन्द्रमा कार्यरत प्रहरीमध्ये पहिलो स्थान हासिल गर्दै रु ४० हजार नगद पुरस्कार तथा प्रशंसा–पत्र प्राप्त गर्न सफल भएकी हुन्।
लैंगिक हिंसा न्यूनीकरण, समस्याग्रस्त केसहरूको संवेदनशील व्यवस्थापन तथा लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा देखाएको उनको समर्पण, निष्ठा र व्यावसायिकतालाई नेपाल प्रहरीले विशेष सम्मान गरेको हो।

नेपाल प्रहरीको विभागीय नीति–निर्देशन र आदेशको शतप्रतिशत पालना गर्दै सेवा केन्द्रको जिम्मेवारी अत्यन्त प्रभावकारी ढङ्गले वहन गर्दै आएकी रागनी कुमारीको भूमिका उदाहरणीय तथा प्रेरणादायी रहेको प्रहरी संगठनले जनाएको छ।
उनीलाई प्रदान गरिएको प्रशंसा–पत्रमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको हस्ताक्षर रहेको छ।
साथै, सोही कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले असई रागनी कुमारीलाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि अझ प्रभावकारी सेवा र नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।
रौतहटबाट लैंगिक हिंसा विरुद्धको अभियानमा रागनी कुमारीले देखाएको सक्रियता, संवेदनशीलता र निर्भीकताले प्रहरी संगठनमै एक उत्कृष्ट उदाहरण स्थापित गरेको छ।