पत्रकार आशु सर्राफ ‘नरेश सर्राफ स्मृति पुरस्कारबाट सम्मानित

56

 

मंसिर १५, वीरगञ्ज आनन्द पटेल।

स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित समारोहमा सर्राफलाई नगद रु २१ हजारसहित सम्मानपूर्वक पुरस्कार प्रदान गरिएको हो।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले स्व. नरेश सर्राफले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानसँगै उनले स्थापित गरेका मूल्य, प्रतिबद्धता र निष्ठाले आजका पत्रकारलाई प्रेरणा दिएको उल्लेख गरे। उनका आदर्श, सिद्धान्त र सेवा–समर्पणले नयाँ पुस्ताका पत्रकारलाई सही दिशामा अगाडि बढ्न मार्गदर्शन गरेको पनि बताइयो।

आयोजकका अनुसार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको पुरस्कारले निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारितालाई थप ऊर्जा र सम्मानको भावना बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्व. नरेश सर्राफको पत्रकारिताप्रतिको समर्पण प्रशंसनीय रहेको भन्दै उनको योगदान सदैव मूल्यवान् रहने उल्लेख गरे। विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी र लेखा संयोजक केसी लामिछानेले स्व. सर्राफले सिकाएको सत्यनिष्ठ र उत्तरदायी पत्रकारिताको बाटोमा लाग्न आग्रह गर्दै पत्रकारलाई आफ्नो कार्यमा सदैव सटीक र अनुशासित रहन सुझाव दिए। साथै जनविश्वास पत्रकारितामा घट्दो अवस्थामा यसलाई सबैले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

सो अवसरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले स्व. सर्राफलाई समाजसेवी र संघर्षशील पत्रकारको रूपमा स्मरण गर्दै उनको पत्रकारिता जीवनबाट प्रेरणा लिनुपर्ने बताए।

कार्यक्रममा नेता बालगोपाल थापा, समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, पत्रकार निरज पीठाकोटे मगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी बल पर्साका प्रमुख पुरन भट्ट, संगठनका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

समारोह समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.