लायन्स क्लबको स्वास्थ्य अभियान: ३२४ जनाको आँखा परीक्षण, १२९ जनाको अपरेसन सोमबारदेखि

52

 

वीरगञ्ज — “Vision for All” सबैको लागि दृष्टि अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीद्वारा आज बहुदरमाई नगरपालिका–८, रामनगरीमा संयुक्त रूपमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको शिविरमा माट्रिका आइ फाउन्डेशन वीरगञ्जकी अनुभवी नेत्ररोग विशेषज्ञ डा. आरती साहको नेतृत्वमा चिकित्सक टोलीले परामर्श तथा विभिन्न आँखा समस्या सम्बन्धी परीक्षण प्रदान गरेको थियो।

शिविरमा ३२४ जनाले निःशुल्क परामर्श लिएका थिए ।

परीक्षणका क्रममा १२९ जनामा मोतिबिन्दु पहिचान भएको लायन्स इन्टरनेशनलका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहाले जानकारी दिएका छन् , उनका अनुसार गम्भीर अवस्थामा रहेका सबै १२९ जनाको पूर्ण रूपमा निःशुल्क मोतिबिन्दु अपरेसन गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले ग्रामीण तथा पिछडिएका क्षेत्रमा आँखा रोग समयमै पहिचान नहुँदा जटिलता बढ्ने उल्लेख गर्दै शिविरले स्थानीयलाई सहज रूपमा सेवा प्रदान गरेको बताए। उनले लायन्स क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेकोमा धन्यवाद दिँदै यस्ता स्वास्थ्यमूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्न आयोजक पक्षलाई आग्रह गरेका थिए।

लायन्स इन्टरनेशनलका जोन चेयरपर्सन लायन सुनिल गुप्ताका अनुसार आज परिक्षण गरिएका बिरामीमध्ये गम्भीर अवस्थाका १२९ जनाको मोतिबिन्दु अपरेसन आगामी सोमबारदेखि माट्रिका आई फाउण्डेशन वीरगञ्जमा प्रारम्भ हुनेछ र आँखा स्वास्थ्य सेवासम्बन्धी यस्ता कार्यक्रम निरन्तर जारी रहनेछन्।

कार्यक्रममा लायन्स इन्टरनेशनलकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, एरिया सेक्रेटरी लायन सल्मा खातुन, वडा नम्बर – ८ का वडा अध्यक्ष पुनिलाल साह, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, लायन रूपशिला जैसवाल, लायन रोहित कलवार, रामनगरी स्वास्थ्य चौकीका अहेब शम्भु साह लगायत स्थानीयवासीको उल्लेख सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.