२०४३ सालका SLC विद्यार्थी समूहद्वारा वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग
५ पौष, वीरगन्ज आनन्द पटेल ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुर–मुर्ली, वीरगन्जका २०४३ सालका SLC विद्यार्थी समूहले वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ।
समूहका अध्यक्ष सुमन प्रसाद साह तथा संयोजक राजकुमार श्रेष्ठको नेतृत्वमा सदस्यहरू नवीन विक्रम शाह, राजेश लिम्बु, सुमन श्रेष्ठ, सूर्य प्रसाद श्रेष्ठ, अजय बर्णवाल, हृदयनारायण प्रसाद, अशोक कम्ती, दीपक कुवर, विश्वनाथ साह, पप्पु कलवार, असलम अन्सारी, अजिम हवारी, किरण गिरी र समिम अख्तरले ९ बोरा र १४ झोला कपडा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र सल्लाहकार श्रवणबहादुर रायमाझीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा पत्रकार कन्हैया गुप्ताको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा SLC समूहका अध्यक्ष साहले विगत केही वर्षदेखि वीरगन्ज कपडा बैंकले दिनदुखी, असहाय, आगलागी तथा बाढीपीडितहरूलाई वीरगन्ज तथा पर्साका ग्रामीण क्षेत्रमा घरदैलोमै पुगेर निस्वार्थ सेवा गर्दै आएकोप्रति खुशी व्यक्त गरे। उनले आफूहरूका घरमा रहेका प्रयोगयोग्य कपडा संकलन गरी सहयोग गरेको बताउँदै आगामी दिनमा पनि कपडा बैंकको कार्यमा साथ–सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
उनका अनुसार समूहले यसअघि आफूहरूले अध्ययन गरेको विद्यालयका शिक्षकहरूलाई सम्मान कार्यक्रम, मानवसेवा आश्रममा खाद्यान्न सहयोग, दशैं पर्वमा गहवामाई मन्दिरमा दर्शनार्थीलाई नास्ता वितरण, ईद पर्वमा रोजा व्रत गर्नेहरूका लागि साझ अफ्तारी कार्यक्रमलगायत विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्दै आएको छ।
त्यस अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले “तपाईंकोमा धेरै छ भने हामीलाई दिनुस्, छैन वा आवश्यक छ भने हामीबाट निःशुल्क लिनुस्” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोही पनि नाङ्गो नरहोस् भन्ने उद्देश्यका साथ विगत सात वर्षदेखि सेवा दिँदै आएको बताए।
उनका अनुसार वीरगन्ज–८ मा रहेको कार्यालयबाट शनिबार बाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिँदै आएको छ भने महिनामा एक–दुई पटक वीरगन्जको घण्टाघर तथा पर्सा र बाराका ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिँदै आएको छ।
अध्यक्ष सिंहले २०४३ सालका SLC समूहले सामाजिक सेवामा सक्रिय भूमिका निभाउँदै आएकोमा प्रशंसा गर्दै कपडा सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरे। साथै, जाडो बढ्दै जाने भएकाले न्यानो कपडा र कम्बल सहयोग गर्न सबैमा आग्रह पनि गरे।