अहमदिया संघ नेपालद्वारा पर्सामा निःशुल्क आँखा जाँच शिविर, ४७६ जना लाभान्वित

47

वीरगञ्ज, ५ पुस — आनन्द पटेल

अहमदिया संघ नेपालले शनिबार पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठास्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको शिविरमा आँखाको विशेष परीक्षण, निःशुल्क औषधि वितरण तथा मोतिबिन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको थियो।

अहमदिया संघ नेपालको आयोजना तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत केडिया आँखा अस्पतालको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको हो। अहमदिया संघ नेपाल एक मुस्लिम धार्मिक संस्था हो, जसले सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ।

कार्यक्रममा बोल्दै आयोजक सदस्य तथा बारा–पर्सा इन्चार्ज हासिम अहमदले “सबैलाई प्रेम गरौँ, कसैलाई घृणा नगरौँ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संघले आम नेपाली जनताको सेवा गर्नु नै मुख्य उद्देश्य रहेको बताए। सामाजिक, सांस्कृतिक र आत्मीय समझदारीका माध्यमबाट शैक्षिक तथा स्वास्थ्य चेतना अभिवृद्धि गरी सभ्य र समृद्ध समाज निर्माणमा संघ प्रतिबद्ध रहेको उनले बताए।

उनका अनुसार स्थापनाकालदेखि नै संघले वृद्ध, बालबालिका, भूकम्प तथा बाढीपीडित, साथै कोरोना महामारीजस्ता कठिन परिस्थितिमा मानवसेवाका कार्य गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ।

अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्व तथा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा शिविरको शुभारम्भ गरिएको थियो। शिविरबाट कुल ४७६ जना लाभान्वित भएका छन्।

शिविरमा जाँच गरिएका मध्ये १८० जनामा मोतिबिन्दु देखिएको र उनीहरूको निःशुल्क शल्यक्रिया भोलिदेखि गरिने जानकारी दिइएको छ।

शिविरमा केडिया आँखा अस्पतालका प्राविधिक डा. रासदेव साह, फिजिसियन डा. शिवशंकर, डा. अनिल कुमार साहसहितको प्राविधिक टोली सहभागी थियो। साथै अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमद तथा सदस्यहरू रहमतुल्लाह अहमद, शेख इस्माइल, अलिक अहमद, सजाउ हुसेन, हेल्थ असिस्टेन्ट अलताफ हुसेनलगायतको सक्रिय सहभागिता रहेको थियो।

आर्थिक तथा शारीरिक रूपमा कमजोर वृद्धवृद्धाहरूले घर नजिकै उपचार सेवा पाउँदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.