आईडिया एक्सलेन्स अवार्ड २०२५ को औपचारिक घोषणा
काठमाडौँ। ईन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) ले आईडिया एक्सलेन्स अवार्ड २०२५ को औपचारिक घोषणा गरेको छ । व्यावसायिक इन्टेरियर डिजाइनर तथा इन्टेरियर डिजाइन अध्ययनरत विद्यार्थीहरूका सिर्जनशील विचार, नवप्रवर्तन र उत्कृष्ट कार्यलाई सम्मान गर्ने उद्देश्यसहित अवार्डको घोषणा गरिएको हो ।
पहिलो संस्करणको अपार सफलतापछि दोस्रो संस्करणका रूपमा अघि बढाइएको यस अवार्ड कार्यक्रमले इन्टेरियर डिजाइन क्षेत्रमा मौलिक सोच, आधुनिक डिजाइन अवधारणा, दिगोपन, कार्यात्मक सौन्दर्य र व्यावसायिक उत्कृष्टतालाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम संयोजक इन्टेरियर डिजाईनर (आइडी) सुशोभित रञ्जितकारका अनुसार व्यावसायिक इन्टेरियर डिजाइनरहरूका साथै इन्टेरियर डिजाइन अध्ययनरत विद्यार्थीहरूलाई एउटै साझा मञ्च प्रदान गर्दै उनीहरूको प्रतिभालाई राष्ट्रिय स्तरमा पहिचान गराउनु यस अवार्डको प्रमुख उद्देश्य हो । उनले यस पहलले नेपालमा इन्टेरियर डिजाइन पेशालाई थप व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जसअन्तर्गत सहभागीहरूले आफ्ना नवीन डिजाइन अवधारणा, परियोजना तथा सिर्जनात्मक कार्य प्रस्तुत गर्न सक्नेछन् । प्रस्तुत कार्यहरूको मूल्याङ्कन अनुभवी निर्णायक मण्डलले तय गरिएका मापदण्डअनुसार गर्ने आयोजक संस्थाले जनाएको छ ।
यस अवार्डमा आईडिया नेपालका सदस्य डिजाइनरहरू सहभागी हुन सक्नेछन् । आवेदन प्रक्रिया खुला भइसकेको छ भने आईडिया नेपालको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । पुरस्कार वितरण समारोहको मिति तथा अन्य विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने कार्यक्रम संयोजक रञ्जितकारले जानकारी दिए ।