आईडिया एक्सलेन्स अवार्ड २०२५: सुशोभित रञ्जितकार कार्यक्रम संयोजक नियुक्त
काठमाडौँ। ईन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) ले ‘आईडिया एक्सलेन्स अवार्ड २०२५’ का लागि इन्टेरियर डिजाईनर (आइडी) सुशोभित रञ्जितकारलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ ।
आईडिया नेपालले व्यावसायिक इन्टेरियर डिजाइनर तथा इन्टेरियर डिजाइन अध्ययनरत विद्यार्थीहरूका सिर्जनशील विचार, नवप्रवर्तन र उत्कृष्ट कार्यलाई सम्मान गर्ने उद्देश्यसहित अवार्डको औपचारिक घोषणा गरेको हो । पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणका रूपमा अघि बढाइएको यस अवार्ड कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न रञ्जितकारलाई संयोजकको जिम्मेवारी दिइएको संघले जनाएको छ ।
आईडिया नेपालका अध्यक्ष श्यामबहादुर श्रेष्ठद्वारा जारी नियुक्ति पत्रअनुसार रञ्जितकारलाई ‘आईडिया एक्सलेन्स अवार्ड २०२५’ को योजना निर्माण, समन्वय, मूल्याङ्कन प्रक्रिया तथा सम्पूर्ण कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
आईडिया नेपालका सचिवसमेत रहेका कार्यक्रम संयोजक रञ्जितकारका अनुसार यस अवार्डले इन्टेरियर डिजाइन क्षेत्रमा मौलिक सोच, आधुनिक डिजाइन अवधारणा, दिगोपन, कार्यात्मक सौन्दर्य र व्यावसायिक उत्कृष्टतालाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
रञ्जितकारले आईडिया नेपालका सम्पूर्ण सदस्यहरू, भेन्डरहरू, सरोकारवाला पक्षहरू तथा सम्बन्धित संस्थाहरुलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई यस अवार्डलाई भव्य र सफल बनाउन सहयोग गर्न आग्रह गरे । उनले यो अवार्ड केवल सम्मान कार्यक्रम मात्र नभई नेपालमा इन्टेरियर डिजाइन क्षेत्रको स्तर उकास्ने साझा अभियान भएको उल्लेख गर्दै सबैको एकताबद्ध प्रयासले यसलाई उदाहरणीय बनाउने विश्वास व्यक्त गरे ।