वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा करिब एक हजार थान कपडा नि:शुल्क वितरण

96

वीरगन्ज, २३ माघ ।

वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट गरीब तथा असहायलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको कपडा बैंकले यस पटक घण्टाघर क्षेत्रमा करिब १ हजार थान नयाँ तथा पुराना कपडा वितरण गरेको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमका विशिष्ट अतिथिहरूमा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश कुमार उपाध्याय तथा समाजसेवी वरुण चौरसिया रहेका थिए।

कार्यक्रममा बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, सीए देवराज सराफ, आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपसिला जैसवाल, सल्लाहकार समाजसेवीहरू हुकुम सिंह, ओमप्रकाश सराफ, श्रवण बहादुर रायमाझी, साथै सदस्यहरू जानकी देवी, इन्द्र कुमार मानन्धर, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, राहुल सिंह राजपुत, अभय बस्नेतलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूको पनि सहभागिता थियो।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुस्, र जसलाई आवश्यक छ, नि:शुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कपडा बैंकले विगत ७ वर्षदेखि मानवसेवामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे। आगलागी, बाढी, शीतलहर तथा चिसो यामजस्ता विपद्का बेला पीडितको घरआँगनमै पुगेर लत्ताकपडा तथा अन्य सामग्री सहयोग गर्दै आएको कार्य प्रशंसनीय रहेको उनले बताए। साथै, प्रत्येक व्यक्तिले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गरे।

कार्यक्रमको समापनमा अध्यक्ष लालबाबू सिंहले कपडा बैंकको मानवतामूलक अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.