वीरगञ्जमा भन्सार छापाका क्रममा कारोबारीको आक्रमण, सशस्त्र प्रहरीको गाडी तोडफोड
वीरगञ्ज ।
वीरगञ्ज भन्सारको सशस्त्र राजस्व गस्तीले वीरगञ्जको एक गोदाममा छापा मार्ने क्रममा कारोबारी पक्षबाट आक्रमण भएको छ । आक्रमणमा सशस्त्र प्रहरीको गाडी तोडफोड हुनुका साथै एक प्रहरीको मोबाइल र हेलमेट लुटिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित एक व्यापारिक गोदाममा छापा मारेर बरामद मालसामान लिएर फर्किने क्रममा एक समूहले गस्ती टोलीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन क्षेत्रीले जानकारी दिए ।
राजस्व गस्तीको नेतृत्व गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार चोरी पैठारीको मालसामान रहेको सूचनाका आधारमा उक्त गोदाममा छापा मारिएको हो ।
‘भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा फरक किसिमका सामान फेला परेपछि नियन्त्रणमा लिने क्रममा एक्कासी लाठीफाटा सहितको समूहले आक्रमण गर्यो,’ डीएसपी अधिकारीले बताए ।
आक्रमणका क्रममा सशस्त्र प्रहरीको ट्रक र भ्यानको सिसा फुटेको छ भने गस्ती टोलीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक महमद अन्सारी आलमको मोबाइल फोन र हेलमेट समेत लुटिएको छ । यद्यपि प्रहरीमाथि लाठी प्रहार भए पनि गम्भीर चोटपटक नलागेको एसपी क्षेत्रीले बताए ।
सशस्त्र प्रहरीले स्थानीय सविता इन्टरप्राइजेज नामक फर्मको गोदाममा छापा मारेको हो । उक्त फर्म प्रमोदकुमार कानुको नाममा दर्ता रहेको र गोदाम रहेको घर स्थानीय व्यापारी मदनप्रसाद गुप्ताको भएको प्रहरीले जनाएको छ ।
यसअघि आइतबार राति गुप्ता सञ्चालक रहेको जयमाँ दुर्गा ट्रान्सपोर्टको ना ३ ख ५२५० नम्बरको ट्रक भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (VCTS) बिना तस्करीको मालसामान ओसारपसार गर्न लागेको आशंकामा नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डीएसपी अधिकारीले जानकारी दिए । मदनप्रसाद गुप्ता वीरगञ्जमा ‘विवादास्पद कारोबारी’को रूपमा चिनिँदै आएका छन् ।
वीरगञ्ज भन्सारका प्रमुख प्रशासक कृष्णप्रसाद मैनालीले छापाका क्रममा दुई जना भन्सार कर्मचारी समेत सहभागी रहेको र बरामद साडी तथा कुर्ता–सलवारलगायत कपडाका मालसामानबारे आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए ।
आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।