वीरगन्जमा रगतको चरम अभाव : रक्तसञ्चार केन्द्र पर्साद्धारा संघ–संस्था र स्थानीयलाई रक्तदान गर्न आग्रह

128

वीरगन्ज । वीरगन्जमा अहिले रगतको चरम अभाव देखिएको छ। वीरगन्ज रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा आवश्यक रगत नपाइएपछि बिरामी र आफन्तहरू धाइरहेका छन्।

इमरजेन्सी अवस्थाका बिरामीका लागि समेत रगत उपलब्ध नभएपछि अस्पताल परिसरमा चिन्ता र त्रासको अवस्था देखिएको छ। रगत अभावका कारण उपचारका लागि आएका बिरामीका आफन्तहरू निकै समस्यामा परेका छन्।

नारायणी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्त विश्रामपुरका नुरालम देवानले इमरजेन्सी अवस्थामा समेत रगत नपाएको गुनासो गरे। उनका अनुसार उनकी भाउजुको आज अस्पतालमा अप्रेसन तय भएको थियो।

अप्रेसनको तयारीका क्रममा ब्लड बैंकबाट रगत लिन जाँदा त्यहाँ रगत नै नभएको प्रतिक्रिया पाएको उनले बताए।
“अप्रेशन गर्नुपर्ने बेला रगत लिन ब्लड बैंक पुग्दा रगत छैन भनियो, त्यसपछि आफैं व्यवस्था गर्न लगाइयो,” उनले भने।

यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रशासन प्रमुख बिरशम्सेर पटेलले पनि वीरगन्जमा अहिले रगतको अभाव भएको स्वीकारेका छन्। उनका अनुसार पछिल्लो समय चुनाव, होली लगायतका पर्व र लगातारको बिदाका कारण नियमित रूपमा रक्तदान कार्यक्रम हुन नसक्दा रगत संकलन घटेको हो।

उनका अनुसार वीरगन्जमा दैनिक रूपमा करिब ६० देखि ७० पोका रगतको माग हुने गरेको छ। तर संकलन अत्यन्तै कम भएपछि अहिले ब्लड बैंक लगभग रित्तो जस्तै अवस्थामा पुगेको उनले बताए।

रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामी र उनीहरूका आफन्तहरू आफैं रगत खोज्दै दौडधुप गर्न बाध्य भएका छन्। समयमै रगत उपलब्ध नहुँदा इमरजेन्सी बिरामीको उपचार नै प्रभावित हुन सक्ने भन्दै चिकित्सकहरूले समेत चिन्ता व्यक्त गरेका छन्।

यसैबीच पर्सा रक्तसञ्चार केन्द्रले विभिन्न संघ–संस्था, क्लब तथा स्थानीय बासिन्दालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न र स्वेच्छिक रूपमा रक्तदानमा सहभागी हुन आग्रह गरेको छ।

केन्द्रले समयमै रगत संकलन बढाउन सके मात्रै बिरामीको उपचारमा सहजता आउने भएकाले सबैलाई मानव सेवाको महान कार्य रक्तदानमा सहभागी हुन अपिल गरेको छ। स्वास्थ्यकर्मीहरूले पनि तत्काल रक्तदान कार्यक्रमहरू सञ्चालन नभए रगत अभावको संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

Leave A Reply

Your email address will not be published.