विश्व सिख वातावरण दिवसको अवसरमा त्रीजुद्ध स्कुलमा वृहत् वृक्षारोपण
वीरगञ्ज, फागुन ३० । विश्व सिख वातावरण दिवसको अवसरमा श्री गुरुनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल तथा प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा वीरगञ्ज–४ स्थित ऐतिहासिक त्रीजुद्ध स्कुल प्राङ्गणमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षता तथा ज्येष्ठ समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अतिथिका रूपमा डा. गणेश अग्रवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेशमान सिंह, प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जितेन्द्र सिंह, रुपनारायण सिंह, शिक्षकहरू विनोद स्वर्णकार र प्रेम पटेल, सञ्चारकर्मी आकाश पटेल तथा दृष्टिविहीन छात्रावासका विद्यार्थीहरू सहभागी थिए। सहभागीहरूले वृक्षारोपण गर्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सिंहले सातौँ सिख गुरु साहेब श्री गुरु हरिराय जीको स्मरण तथा उद्देश्यअनुसार वातावरण, वनस्पति, जीवजन्तु र पशुपक्षीप्रति माया, संरक्षण र प्रवर्द्धनको भावना फैलाउन हरेक वर्ष मार्च १४ मा विश्वभर वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले वातावरण स्वस्थ भए मात्र मानव जीवन पनि सुरक्षित र स्वस्थ रहने भएकाले सबैलाई आफ्नो वरपर वृक्षारोपण गर्न र नदी, नाला, पोखरी तथा सार्वजनिक स्थल सफा राख्न आग्रह गरे।
सो अवसरमा निम, गोल्डमोहर, जकरन्डा, अम्बा, जामुन, अमला, कैसुला, कल्की, कागती, बेगलबेलिया, गन्धराज, मोगरा, पारिजात, इन्द्रकमल, कामिनी लगायतका विभिन्न मौसमी फूल तथा फलफूलका बिरुवा गरी कुल १०१ वटा रोपण तथा वितरण गरिएको सहसचिव अभिनास झाले जानकारी दिए।