वीरगञ्जमा नवनिर्वाचित सांसद हरि पन्तलाई बधाई तथा सम्मान

71

चैत्र १, वीरगञ्ज

वीरगञ्जस्थित सामुदायिक प्रहरी कुम्हालटोल ले पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त लाई सम्मान गरेको छ।

आयोजित कार्यक्रममा सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद पन्तलाई अबिर–टीका, खादा तथा माला लगाई मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र समेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सांसद पन्तले प्रहरीप्रति रहेको डर र दूरी हटाई समाज र प्रहरीबीच सहकार्य बढाउने उद्देश्यले सरकारले सामुदायिक प्रहरीको अवधारणा अघि सारेको बताए। सामुदायिक प्रहरीले समाज र प्रहरीबीच विश्वासको पुल निर्माण गर्दै सेवा प्रदान गरिरहेको उनले उल्लेख गरे।

पन्तले आफू नेता नभई जनताकै सेवक भएको बताउँदै निर्वाचनमा कुनै नेता होइन, जनताले नै जनतालाई जिताएको उल्लेख गरे। “तपाईंहरूले मलाई जिताएर जुन विश्वास गर्नुभएको छ, त्यसले ममाथि अझ ठूलो जिम्मेवारी थपिएको छ,” उनले भने, “आफ्नो क्षमताअनुसार देश, वीरगञ्ज र यहाँका नागरिकको सेवामा लागिरहनेछु।”

सो अवसरमा कार्यक्रमका सल्लाहकार मार्टिन मोक्तान ले सांसद पन्तलाई बधाई दिँदै उनको जितमा महात्मा गान्धी को “सादा जीवन, उच्च विचार” भन्ने विचारको झल्को देखिएको बताए। पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी लाई यहाँसम्म पुर्‍याउन पन्तको सरल, मिलनसार तथा दृढ स्वभावले महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।

कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरी ले सांसद पन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्दै छोटो समयको आग्रहमा पनि कार्यक्रममा सहभागी भई सुझाव ग्रहण गरेकोमा धन्यवाद दिएका थिए।

कार्यक्रममा आगामी प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई सुझाव समेटिएको पत्र पनि सांसद पन्तलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली ले राखेका थिए भने सहजीकरण सचिव श्रवण बहादुर रायमाझी ले गरेका थिए।

सो अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडासदस्य मनोज साह, वीरगञ्ज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह, अभिभावक संघका अध्यक्ष सन्दिप साह, लोकल नेपाल प्रा.लि. का सञ्चालक युवराज केसरी, प्रोढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारी सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.