सत्य पत्रकारिताका पक्षधर राईलाई ज्ञान्दा एकेडेमीको सम्मान

58

वीरगञ्ज । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक तथा जगत समाचारका सञ्चालक जगत राई सम्मानित भएका छन्।

ज्ञान्दा एकेडेमी स्कुलका सिइओ तथा प्रोफेसर राजेन्द्र कोइरालाले राईलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन्। लामो समयदेखि वीरगञ्जलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका राईले शिक्षा क्षेत्रसहित समाजका विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाइएको छ।

सम्मान कार्यक्रममा बोल्दै सिइओ कोइरालाले राईले आफ्नो कलममार्फत समाजमा रहेका विकृति, विसंगतिहरू उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनहरूमा पनि सत्य–तथ्य समाचार निडरतापूर्वक प्रस्तुत गर्न आग्रह गर्दै कुनै पनि डर, धम्कीबाट नहिच्किकाई समाजका लागि काम गर्न सुझाव दिए।

कोइरालाले इमान्दार पत्रकार समाजका अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता व्यक्तिहरूलाई खोजी–खोजी सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। पर्सा जिल्लामा राम्रो काम गर्ने पत्रकारहरू भए पनि उनीहरूलाई समाजले पर्याप्त रूपमा चिन्न नसकेको उल्लेख गर्दै यस्तो सम्मानले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै पत्रकार राईले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै यसलाई आफ्नो योगदानको कदरको रूपमा लिएको बताए। उनले आगामी दिनहरूमा पनि सत्य र इमान्दारिताको पक्षमा उभिँदै समाज र राष्ट्रका लागि निरन्तर कलम चलाइरहने प्रतिबद्धता जनाए।

Leave A Reply

Your email address will not be published.