मानवीय सेवामा साउथ जोन परिवार, भोटेकोशी बाढीपीडितलाई १ लाख ५५ हजार ५५५ सहयोग

85

वीरगञ्ज आनन्द पटेल।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि वीरगञ्जस्थित साउथ जोन सेकेन्डरी स्कुल परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संकलन गरेको छ।

बाढीपीडितको दुःखमा साथ दिने उद्देश्यले विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक सहभागितामा उक्त रकम संकलन गरिएको हो।

विद्यालयका प्रधानाध्यापक सरोज चौधरी र उपप्रधानाध्यापक अशोक संग्रौलाको नेतृत्व तथा समन्वयमा सञ्चालन गरिएको सहयोग अभियानमा विद्यालय परिवारका सदस्यहरूले स्वेच्छिक रूपमा योगदान गरेका थिए।

विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै विद्यालय परिवारले एकताबद्ध भएर सहयोगका लागि हातेमालो गरेको जनाएको छ। संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा उपयोग गरिने बताइएको छ।

प्रधानाध्यापक चौधरी र उपप्रधानाध्यापक संग्रौलाले सहयोग अभियानमा साथ दिने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

विद्यालय परिवारले “मानवताका लागि साउथ जोन परिवार, सँगै अघि बढौँ” भन्ने सन्देश सहित विपद्मा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.