अनुराग साहको नेतृत्वमा जीवन ज्योति विद्यालयमा इन्टर्याक्ट क्लबको नयाँ कार्यसमिति गठन

77

वीरगञ्ज, साउन ३

जीवन ज्योति बोर्डिङ स्कुलको इन्टर्याक्ट क्लबको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद कलवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कलवारले इन्टर्याक्ट क्लब केवल पद प्राप्त गर्ने संस्था नभई समाजप्रति उत्तरदायित्व बहन गर्दै नेतृत्व क्षमता विकास गर्ने साझा मञ्च भएको बताए। उनले सामाजिक सेवामा समर्पित हुँदै व्यक्तित्व विकास र समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे।

कलवारले रोटरी वर्ष २०२६–२७ का लागि इन्टर्याक्ट क्लबका अध्यक्षमा निर्वाचित इ. अनुराग साह तथा उनको नेतृत्वको सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए। साथै, निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताले विद्यार्थीहरूमा नेतृत्व, सामाजिक उत्तरदायित्व र सेवाभावको विकास गर्ने उद्देश्यले विद्यालयमा इन्टर्याक्ट क्लब स्थापना गरिएको बताए। उनले सामाजिक संस्थामा आबद्ध हुँदा व्यक्तिगत विकाससँगै समाजमा रहेका विकृति–विसंगति हटाउन सकारात्मक योगदान पुर्‍याउने अवसर प्राप्त हुने उल्लेख गरे।

कार्यक्रममा प्रमुख अतिथि कलवार र प्रिन्सिपल गुप्ताले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा निवर्तमान अध्यक्ष सिद्धि कर्णले अध्यक्ष अनुराग साहलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेकी थिइन्।

निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकालमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै नेतृत्व क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण अनुभव हासिल भएको बताइन्। उनले आगामी दिनमा अझ बढी विद्यार्थीलाई सामाजिक सेवामा जोडिन आग्रह गरिन्।

कार्यक्रममा रोटेरियन राकेश मिश्र, निखिल गुप्ता, रामविनय यादव, संगम पण्डित, सौरभ बर्नवाल, डा. प्रीति गुप्ता, मोहम्मद उमर देवान, कनहैया गुप्ता, अशुत चौधरीलगायत रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.