सांसद सुशील कानु र सुधीर पटेलद्वारा डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

101

वीरगञ्ज, साउन ३

पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबान समस्याको स्थलगत निरीक्षण गर्दै प्रभावित क्षेत्रमा समाधानको पहल सुरु गर्नुभएको छ।

सांसद कानुले वीरगञ्ज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर वर्षाको पानीका कारण किसानले लगाएको धानबाली तथा जनधनमा पुगेको क्षतिको अवलोकन गर्नुभयो। निरीक्षणका क्रममा उहाँले स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै पानी निकासको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो।

उहाँले विगतदेखि दोहोरिँदै आएको करिब दुई सय बिगहा खेतीयोग्य जमिनको डुबान समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यका साथ आफू सक्रिय रहेको उल्लेख गर्नुभयो। स्थानीयको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी निकास व्यवस्थापनका लागि आवश्यक पहललाई तीव्रता दिइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

स्थलगत निरीक्षणमा स्थानीय किसान, जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य तथा रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादवलगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.