गहवा माई रथयात्रा भव्य रूपमा सम्पन्न, सहयोगी निकाय र सञ्चारकर्मीलाई सम्मानसहित आभार

53

वीरगञ्ज, साउन ३

ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी वीरगञ्जस्थित श्री गहवा माई मन्दिरमा आयोजित “श्री गहवा माई चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव–२०८३” अन्तर्गतका सम्पूर्ण कार्यक्रम लाखौँ श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागितासहित ऐतिहासिक रूपमा सम्पन्न भएका छन्।

गत असार ३२ गते प्रतिकूल मौसमका कारण पूर्वनिर्धारित हेलिकप्टर आउन नसके पनि चौथो विशाल रथयात्रा, भव्य भजन सन्ध्या तथा साउन १ गते सम्पन्न ५६ भोग महापूजा र विशाल महाप्रसाद भण्डारा श्रद्धा, अनुशासन र भव्यताका साथ सम्पन्न भएको श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ।

समितिले महोत्सवलाई सफल बनाउन सहयोग पुर्‍याउने सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा वीरगञ्ज महानगरपालिकाप्रति विशेष आभार व्यक्त गरेको छ।

त्यसैगरी, महोत्सवको प्रचार–प्रसार, समाचार सम्प्रेषण तथा प्रत्यक्ष प्रसारणमार्फत देश–विदेशका श्रद्धालुसम्म सूचना पुर्‍याउन योगदान दिने नेपाल पत्रकार महासंघ पर्सा, सञ्चारमाध्यम, डिजिटल मिडियाकर्मी तथा राष्ट्रिय र स्थानीय सञ्चारगृहहरूप्रति पनि समितिले धन्यवाद ज्ञापन गरेको छ।

रथयात्रा मार्गमा खानेपानी, सर्वत, प्राथमिक उपचार लगायतका सेवामूलक कार्यमा सहयोग गर्ने सामाजिक, धार्मिक, जातीय, साहित्यिक तथा व्यावसायिक संघ–संस्था, स्वयंसेवक, बुद्धिजीवी, नागरिक समाज र सम्पूर्ण वीरगञ्जवासीको योगदानको पनि समितिले उच्च प्रशंसा गरेको छ।

समितिका अध्यक्ष श्याम पोखरेल र सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) द्वारा जारी विज्ञप्तिमा सबै पक्षको निःस्वार्थ सहयोग, सेवाभाव र सामाजिक ऐक्यबद्धताकै कारण महोत्सव अभूतपूर्व रूपमा सफल भएको उल्लेख गरिएको छ।

समितिले देश तथा विदेशबाट सहयोग, समर्थन र सहभागिता जनाउने सम्पूर्ण श्रद्धालु भक्तजनप्रति हार्दिक आभार व्यक्त गर्दै माता गहवा माईको असीम कृपा र आशीर्वाद सबैमा सधैं रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.