एलाइड युथ सोसाइटीको पाँचौँ वार्षिकोत्सव सम्पन्न, प्रद्युमन सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

39

वीरगञ्ज, असार १९ — एलाइड युथ सोसाइटी वीरगञ्जको पाँचौँ वार्षिकोत्सव शनिबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला होटलमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। पाँच वर्षको सामाजिक यात्रालाई स्मरण गर्दै आयोजित कार्यक्रममा समाजसेवा, युवा सशक्तीकरण तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका स प्रहरी उपरीक्षक मोहन बहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने संस्थापक अध्यक्ष ओमकुमार झाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा संस्थाले विगत पाँच वर्षदेखि सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास तथा समाजसेवाका क्षेत्रमा सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा समेत यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो।

कार्यक्रमका क्रममा सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व निर्वाहमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सञ्चारकर्मी अभिलाष गुप्ता, आनन्द पटेल, राकेश साह, श्याम सर्राफ, सन्तोष कुशवाहा र अर्जुन चौधरीलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, प्रद्युमन सर्राफको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष देवेश गुप्ताले पद तथा गोपनीयताको शपथ गराएका थिए।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, युवा, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले एलाइड युथ सोसाइटीले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक सामाजिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष ओमकुमार झाले संस्थाको पाँच वर्षे सफल यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.