तीन छुट्टाछुट्टै कार्यक्रममार्फत वीरगञ्जमा १३२ युनिट रगत संकलन

85

वीरगञ्ज, ०५ बैशाख — वीरगञ्जका विभिन्न तीन स्थानमा सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रममार्फत कुल १३२ जनाले आफ्नो अमूल्य रगत दान गरेका छन्। रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रमहरूमा जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागि देखिएको थियो।

दुर्गा पूजा समिति रानीघाटद्वारा आयोजित २६औं खुला रक्तदान कार्यक्रम समितिका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र प्रसाद यादव रहेका थिए भने विशिष्ट अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर प्रसाद पटेल लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ५८ पुरुष र ४ महिला गरी जम्मा ६२ जनाले रक्तदान गरेका थिए।

त्यसैगरी, युवा जागरूक समाज नेपालद्वारा नारायणी अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा डा. सुनील जैसवाल, मुकेश कुमार कुर्मी, विवेक कुमार चौबे लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा २५ पुरुष र ७ महिला गरी जम्मा ३२ जनाले रक्तदान गरेका थिए।

यसैक्रममा सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जमा आयोजित अर्को रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए।

तीनवटै कार्यक्रममार्फत संकलित रगतले आपतकालीन अवस्थामा बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजक संस्थाहरूले यस्ता सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.