नारायणी अस्पतालमा निःशुल्क भोजन सेवा तेस्रो वर्षमा, वीरगन्ज समाज सेवाको अभियान निरन्तर

82

वीरगन्ज, बैशाख ५ — वीरगन्ज समाज सेवाले नारायणी अस्पतालमा सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ। विगत दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि अस्पताल परिसरमा सञ्चालन हुँदै आएको यो सेवाले बिरामी, कुरुवा, असहाय व्यक्तिहरू, साथै रिक्सा तथा ई–रिक्सा चालक र बटुवाहरूलाई लक्षित गर्दै आएको छ।

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई घरमै पकाएको जस्तो सफा, शुद्ध र पोषिलो भोजन उपलब्ध गराइँदै आएको छ। प्रत्येक हप्ता करिब ४५० देखि ५०० जनासम्मले यस सेवाबाट लाभ लिइरहेका छन्।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै अभियान सञ्चालन गरिएको बताए। उनले दिनदुःखी र असहायको सेवा गर्दा प्राप्त हुने सन्तुष्टि नै सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै अभियानलाई तेस्रो वर्षसम्म निरन्तरता दिन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक र सहयोगीप्रति आभार व्यक्त गरे। साथै, सबैलाई आ–आफ्नो स्थानबाट यस्ता सेवामूलक कार्यमा हातेमालो गर्न आग्रह पनि गरे।

त्यसैगरी, सचिव प्रकाश वाहेतीले “कोही पनि भोकै नबसोस्” भन्ने उद्देश्यसहित दुई वर्षअघि माइस्थान मन्दिर परिसरबाट सुरु गरिएको अभियान अहिले नारायणी अस्पतालमा केन्द्रित गरिएको जानकारी दिए। अस्पतालमा अधिकांश विपन्न तथा असहाय बिरामी आउने भएकाले यहाँ निःशुल्क भोजन सेवा सञ्चालन गर्दा विशेष सन्तुष्टि मिलेको उनले बताए।

आजको भोजनमा शुद्ध शाकाहारी परिकार अन्तर्गत भात, दाल, आलु–कोभीको तरकारी, हरियो खुर्सानीको अचार र काक्रो वितरण गरिएको थियो। सेवकहरूले वृद्ध, महिला र बालबालिकालाई बोलाइ–बोलाइ थप्दै भोजन गराएका थिए।

अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रकाश वाहेतीसहित लालबाबु सिंह, बिरेन्द्र आर्य, निशान्त लाठ, देवव्रत आर्य, मुकेश अग्रवाल, सतिश सरावगी, रामबाबु गुप्ता, बजरङ अग्रवाल, शंकर राई, राजेन्द्र भट्टराई, अभिलाष गुप्ता लगायतले सक्रिय रूपमा सेवा प्रदान गरेका थिए।

Leave A Reply

Your email address will not be published.