पर्सामा ३९ किलो गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

6

वीरगञ्ज आनन्द पटेल । पर्साको विन्दवासिनी गाउँपालिकाबाट ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले घटनास्थलबाट तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

 साउन २३ गते राति ११ः५५ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा अन्तर्गत बि.ओ.पि. अमरपट्टी, बि.ओ.पि. प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा विन्दवासिनी गाउँपालिका–४ मधवल क्षेत्रमा चेकजाँच तथा निगरानी गरिरहेको थियो।

सो क्रममा इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूले प्रहरी टोलीलाई देखेपछि तीन वटा मोटरसाइकल तथा तीन वटा झोला झाडीतर्फ फालेर भागेका थिए। संयुक्त टोलीले खोजी गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो।

फालिएका झोलाहरू नियन्त्रणमा लिएर जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको छ।

घटनाबारे सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका हुन्। उनका अनुसार बरामद पदार्थ, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.